
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरूरी रहेको बताउनुभएको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउनुहुँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
विगतमाझैँ अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको उहाँले बताउनु भयो । देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले छाति फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताउनु भयो ।
ठिक ढंगले काम गर्नसके निर्वाचन आफैँ जितिने उहाँको विश्वास छ । महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली कांग्रेसको नभएको पनि बताउनु भयो । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने उहाँले जानकारी दिनुभयाे । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी कांग्रेसको भएको उहाँले बताउनु भयो ।