
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
मुख्यमन्त्री यादवसँगै तीन मन्त्रीहरूले प्रदेश प्रमुख सुरेन्द्र लाभसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्री यादवले अर्थमन्त्रीमा जनमतका महेशप्रसाद यादव र विनाविभागीय मन्त्रीमा कांग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका कनिश पटेललाई नियुक्त गर्नुभएको हो।
मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिनु हुने भएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी छ । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि नेपाली कांग्रेस मधेश संसदीय दलका नेता यादव शुक्रबार मुख्यमन्त्री नियुक्त बन्नुभएको हो ।
यादवलाई ६ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थन छ । गत कात्तिक २३ गते संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घन्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।