
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका पारित भएसँगै पार्टीभित्रका सम्भावित समीकरणको अड्कलबाजी र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ ।
कांग्रेसमा नयाँ गुट बन्ने भत्किने श्रृंखलासँगै महाधिवेशन केन्द्रित नयाँ ध्रुवीकरण सुरू भएको हो । जेन-जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको कांग्रेसमा महाधिवेशनपछि नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा तीव्र ध्रुवीकरण हुँदा प्रतिस्पर्धामा चार वटा समूह देखिएका छन् । पुरानो लोकतान्त्रिक पार्टीमा विद्यमान गुट भत्किएर नयाँ गुट बनेसँगै प्रतिस्पर्धा थप चुलिएको हो ।
नेपाली कांग्रेसमा १५ महाधिवेशनबाट नेतृत्वमा आकांक्षा राख्ने नताहरूको सुची लामै छ, दर्जन बढी नेताहरू सभापतिमा उम्मेद्वारी दिने तयारीमा छन्। अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला र महामन्त्री गगन थापाका महाधिवेशनलक्षित पोस्टरहरू सामाजिक सञ्जालमा छाउन थालेका छन् भने उनीहरूले भेटघाट र छलफललाई समेत तिव्र पारेका छन् ।
१४औं महाधिवेशनमा सभापति देउवासँग प्रतिस्पर्धा गर्दा ४० प्रतिशत मत प्राप्त गरेका नेता शेखर कोइरालाले ४ वर्षदेखि नै सभापतिको तयारीमा जुट्नु भएको थियो । नेता कोइरालाले इतर पक्षलाई एकमत राख्दै देउवा नलड्ने भएपछि देउवा समुहका नेताहरुलाई आफ्नो पक्षमा तान्ने रणनीति अनुसार अगाडि बढिरहनु भएको छ । विगतमा देउवा निकट रहेका नेता शशांक कोइरालाई उहाँले आफ्नो पक्षमा पारिसक्नु भएको छ ।
कुनै समय शेखरलाई अनुशासनको कारबाही गर्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएका शशांकले केही दिनअघि शेखरलाई सहयोग गर्ने प्रष्ट पार्नुभयो । १३औं महाधिवेशनबाट बनेका संस्थापन इतर पक्ष एक ठाउँमा छैनन् । सभापतिमा पराजित नेता कोइराला र महामन्त्री गगन थापा अहिले दुबै जना सभापतिको प्रत्यासी हुनुहुन्छ ।
महामन्त्री थापाले विश्वप्रकाश शर्मासहितका नेताहरूलाई साथ लिएर अगाडि बढिरहनु भएको छ । उहाँले पुस्तान्तरणको नारासहित देउवा र शेखर समुहका नेताहरूलाई तान्ने प्रयास गरिरहनु भएको छ । केही नेताहरू शेखर कोइराला र गगन थापालाई मिलाउने प्रयत्नमा छन् । कोइरालालाई सभापति र थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउन सके पार्टी पनि जोगिने र सत्ता पनि आफ्नो हुने उनीहरूको बुझाइ छ ।
यता संस्थापन पक्षकै पूर्वपदाधिकारीहरूको समूहको चाहना अर्कै छ । यो समुहले आफुमध्ये एक जनालाई उत्तराधिकारी तोक्न सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ । यो समूहमा गोपालमान, श्रेष्ठ कृष्णप्रसाद सिटौला,प्रकाशमा सिंह विमलेन्द्र निधि र प्रकाशरण महत छन् । देउवाले पुर्णबहादुर खड्कालाई अगाडि बढाउन सक्ने चिन्ता यो समूहमा छ ।
पुर्वमहामन्त्री शशांक कोइरालाले दाजु शेखर कोइरालालाई सहयोग गर्ने सार्वजानिक गरेपछि यो समूहमा पनि बाँकी पूर्वपदाधिकारीहरूबाट एक जनामा सहमति जुटाउने प्रयास भइरहेको छ । अहिले सबैभन्दा ठूलो विग्रह संस्थापन पक्षमा देखिएको छ । सभापति देउवा नलड्ने भएपछि यो समुहको नेता को भन्ने अन्योल छ । एकले अर्काको अस्तित्व स्वीकार्ने अवस्था छैन ।
उपचारका लागि देउवा सिंगापुर उड्दा महाधिवेशनमा समेत यो समुह एकमत हुन सकेन र देउवाले नै हस्तक्षेप गर्नुपरेको थियो । तर अब सभापतिको लागि देउवाको निर्देशन मान्ने अवस्था यो समुहमा छैन । संस्थापन पक्षबाट कार्यवाहक सभापति पुर्णबहादुर खड्का र पुर्वपदाधिकारीको समुहबीच प्रतिस्पर्धा छ । यो समुह अब एक नरहने र बहुमत सदस्य एक ठाउँमा रहने अवस्था बनेको छ ।
त्यसबाट असन्तुष्ट नेताहरूको अर्को समुह निर्माण हुने र धेरै नेताहरू शेखर कोइरला र गगन थापाको पक्षमा खुल्ने संस्थापन पक्षकै अनुमान छ । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यसरी समीकरण फेरबदल हुनु र तिव्र रूपमा नयाँ निर्माण हुनु स्वभाविक भएको विश्लेषक बताउँछन् ।
अहिले कांग्रेसमा परम्परागत विरासतसहित शेखर कोइरालाको नेतृत्वमा एउटा, रूपान्तरणको नारासहित गगन थापाको नेतृत्वमा अर्को, अहिलेको संस्थापन पक्षबाट पुर्णबहादुर खड्काको नेतृत्वमा अर्को र संस्थापन पक्षकै असन्तुष्ट पूर्वपदाधिकारीहरूको अर्को समुह गरी चार वटा समूहबीच प्रतिस्पर्धा हुन सक्ने विश्लेषण गरिएको छ ।
कांग्रेसले १४ औं महाधिवेशनमा नीतिमा छलफल नगरी नेतृत्वमा मात्रै चयन गरेर अगाढी बढेको थियो । अब १५ औं महाधिवेशनबाट नेतृत्व चयन, नीति तय, संगठनात्मक सुधार, संवाद र समावेशीतामा कस्तो निर्णय लिइन्छ, त्यसले नै कांग्रेसको आगमी भविष्य निर्धारण गर्नेछ । १५औँ महाधिवेशन कांग्रेसको मात्र होइन, नेपालको आगामी लोकतान्त्रिक राजनीतिक दिशाको लागि पनि निर्णायक हुनेछ।