जेन-जी आन्दोलनपछि पहिलाे पटक देउवा र ओलीबीच भेटवार्ता

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनपछि पहिलाे पटक देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । जेन-जी आन्दोलनपछि सत्ता गुमाएका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई शीर्ष नेता शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच अहिले भेटवार्ता भएकाे छ ।

जेन-जी आन्दोलनपछि कांग्रेस सभापति देउवा काठमाडौंको महाराजगञ्जमा बस्दै आउनु भएको छ । देउवालाई भेट्न ओली महाराजगञ्ज पुग्नुभएकाे हाे । कांग्रेस सभापति देउवा र ओलीबीच जेन-जी आन्दोलनको तीनमहिनापछि पहिलो पटक भेटवार्ता भएकाे ओली निकट एक नेताले जानकारी दिएका छन् ।

देउवा र ओलीबीच संसद्को कार्यकालको आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भएको थियो भने त्यहि सहमतिअनुसार ओली प्रधानमन्त्री बन्नुभएको थियो । तर जेन-जी आन्दोलनका कारण ओलीले सत्ता छोडेर भाग्नु परेको थियो भने देउवा आफ्नै निवास बुढानिलकण्ठमा प्रदर्शनकारीको आक्रमणमा पर्नु भएको थियो ।

कांग्रेसले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने एमालेले संसद् पुनस्थापनालाई मुख्य मुद्दा बनाएको छ । जेन-जी आन्दोलनपछि फरक धारमा रहेका दुइनेताबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.