कांग्रेसको १५ औं महाधिवेशन : सबै प्रक्रिया समयमा होला ?

मंसिर १९, २०८२ |प्रकाश बम
कांग्रेसको १५ औं महाधिवेशन : सबै प्रक्रिया समयमा होला ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार टेलिभिजन अन्तर्वार्तामार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभयो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले बुधबार नै कान्तिपुर टिभीको कार्यक्रम फायरसाइडमा गगनलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने बताउनुभयो । महाधिवेशनमा पनि त्यहि कुरा लैजाने दाबी गर्नुभयो । पार्टी नेतृत्वको आकांक्षा राख्ने नेताहरु गुट-गुटमा व्यस्त हुन थालिसकेका छन् । तर पुष २६ का लागि तय भएको कांग्रेसको महाधिवेशनका लागि पदीय आकांक्षाले मात्रै पुग्छ कि महाधिवेशनका लागि आवश्यक प्राविधिक तयारी पनि गर्नुपर्छ ?

नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने गरी कार्यतालिका बनाएको थियो । बिहिवार महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील व्यवस्थापन समितिको बैठकले १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएको छ । अहिले नेपाली कांग्रेस मुख्यालय सानेपामा मुख्य सचिव, सचिव लगायतले नयाँ क्रियाशिल सदस्यता फाराम प्रतिनिधिसभा क्षेत्रीय सभापतिलाई र क्रियाशिल सदस्यता नविकरण फाराम प्रत्येक जिल्ला सभापतिलाई पठाइरहेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी कार्यालयमा कर्मचारीलाई अहिले फाराम वितरण गर्न भ्याइ नभ्याइ छ । प्रतिनिधिसभा क्षेत्रीय सभापति जिल्ला सभापतिहरु सानेपामा पुगेर फाराम बुझ्दैछन् । बिहिवार मात्रै करिब २० जिल्लामा फाराम पठाएको मुख्यालयले जनाएको छ । छोटो समयमा केन्द्रको कार्यातालिका अनुसार क्रियाशिल सदस्यता वितरण र नविकरण गर्न कठिन भएपनि काम सम्पन्न गर्ने बताइरहेका छन् ।

कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएर काम गरिरहेको छ । नियमित १५ औं महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने दबाब छ । जनसङ्ख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै सम्पन्न गर्न निर्देशन दिइएको छ ।

कांग्रेसमा टोल, वडा, गाउँपालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा सदस्यताको विवरण आइपुग्छ । १४ औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम थिए । नविकरणको काम समयमा भएको छ कि छैन र नभएको भए के कारणले भएको छैन भन्ने बुझ्न क्रियाशील सदस्यता व्यवस्थापन समितिबाट तोकिएका सदस्यहरु प्रदेश अनुगमनका लागि खटिएका छन् । मधेश र लुम्बिनी प्रदेशमा स्नेही, बागमती र गण्डकी गुरुङ र कोशी, कर्णाली र सुदूरपश्चिममा चौधरीलाई जिम्मेवारी दिइएको छ । कांग्रेसमा सदस्यता नविकरणमा पनि गुटगत राजनीति तीव्र हुन्छ । जसलाई न्यायिक निरुपण केन्द्रले हेर्छ ।

कांग्रेसका वडादेखि केन्द्रसम्ममा कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य हुन्छ । कांग्रेसमा संगठनबाट नेता बन्ने आधार नै क्रियाशील सदस्यता हो । क्रियाशील सदस्यहरूबाटै कांग्रेसले महाधिवेशन प्रतिनिधि छनोट गर्छ । महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणका र नविकरण कारण हुने आन्तरिक विवाद कांग्रेसको दीर्घ रोग हो । यसपटक हेर्नु छ, सुध्रिने दाबी गरिरहेको कांग्रेसले महाधिवेशनका लागि टुंगो लगाउनुपर्ने यी सबै प्रक्रिया समयमा पूरा गर्छ कि गर्दैन ?


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।