
खोटाङ । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोशी नदीस्थित बंशिलाघाटमा बेलिब्रिज राख्न सुरू गरिएको छ ।
बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सीमानामा पर्ने बंशिलाघाटमा बेलिब्रिज राख्न थालिएको हो । बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राख्न लागेको हो ।
नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा निकालेर राख्नेगरी बेलिब्रिज जडान सुरू गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर बिनम दाहालले जानकारी दिनुभयो । झन्डै ५२ मिटर लामो र ४ दशमलव १ मिटर चौडाइको बेलिब्रिज पुसको पहिलो सातासम्ममा जडान गर्नेगरी काम थालिएको छ ।
गुरूकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि, रौतहटले ५७ लाखमा बेलिब्रिज जडान गर्ने ठेक्का पारेको हो ।