मधेशमा कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सात दलीय गठबन्धनमा सहमति

मंसिर १९, २०८२ |अनिल मिश्र
मधेशमा कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सात दलीय गठबन्धनमा सहमति

जनकपुर । मधेश प्रदेशको सात दलीय गठबन्धनले मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति गरेको छ। 

लामो रस्साकस्सीपछि शुक्रबार दिउँसो ७ दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् । उनीहरूले केही समयपछि दाबी पेस गर्न लागेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसले मुख्यमन्त्री पाएको हो । 

कांग्रेसले मुख्यमन्त्रीमा संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई अगाडि सारेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले सात दलबीच मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार लोसपाले दाबी छोडेपछि सहमति भएको हो । 

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूको लगातार ६ घन्टाको लामो बैठकपछि आगामी मुख्यमन्त्रीको नाम टुंगो लगाएको हो । नयाँ सरकार गठनको लागि आजै प्रदेश प्रमुख समक्ष सात दलले दाबी पेस गर्ने तयारी छ ।

गठबन्धनभित्र कांग्रेस पहिलो र जसपा दोस्रो पोजिसनमा रहेको छ । यसले जसपा कांग्रेसलाई नेतृत्व दिएरै भए पनि सभामुख र सबभन्दा बढी बजेट रहेको भौतिक पुर्वाधार विकास मन्त्रालय लिने रणनीतिमा रहेको बताइएको छ । जनमत र माओवादी केन्द्रलगायतका दलहरू पनि महत्त्वपूर्ण मन्त्रालय लिने दाउमा छन् । मधेश प्रदेशमा अहिले जनमत पार्टीको उपसभामुख यथावत् छ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।