
सुनसरी । श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ लाई प्रस्तुत गर्दै जेन-जी आयोग बनाउने घोषणा गरेको छ ।
अध्यक्ष हर्क साम्पाङले मंगलबार पार्टीको संक्षिप्त घोषणापत्र र एजेन्डाहरू सार्वजनिक गर्दै जेन-जी पुस्ताको माग र गुनासो सुनवाइ गर्न आयोग बनाएर कार्यान्वयन गरिने बताउनभएकाे हाे । पार्टीको प्रारम्भिक घोषणापत्र सार्वजनिक गर्दै साम्पाङले जेन-जी पुस्तालाई उत्पादन, निर्माण र आविस्कारमा लगाउन श्रमदानमा सक्रिय गराउने बताउनुभयाे ।
जेन-जी पुस्तालाई जीवनोपयोगी शिक्षा पद्धति लागु गरी हप्ताको तीन दिन मात्र पढाउने व्यवस्था मिलाएर बाँकी समय श्रमदानमा खटाइने साम्पाङले बताउनुभयाे । प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासमार्फत मात्र मानव समाजको रक्षा र समृद्धि सम्भव हुने धारणा राख्दै त्यसका लागि अनिवार्य श्रम र श्रमदान नै हर्कवादको प्रमुख सिद्धान्त भएको साम्पाङले स्पष्ट पार्नुभयाे ।
साम्पाङले अभाव, गरिबी, विभेद तथा त्यसबाट उत्पन्न द्वन्द्व र हिंसा अन्त्य गर्न श्रमको निरन्तर अभ्यास अपरिहार्य रहेको उल्लेख गर्दै यही सिद्धान्तलाई आधार मानेर पार्टीले राजनीतिक, आर्थिक, सामाजिकदेखि शैक्षिक क्षेत्रसम्मका विस्तृत नीतिगत एजेन्डा सार्वजनिक गर्नुभएकाे हाे ।
घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, एक कार्यकाल पाँच वर्ष र अधिकतम दुई कार्यकाल सीमित हुने प्रस्ताव अघि सारेको छ । राष्ट्रपति–उपराष्ट्रपति एकै लिङ्ग वा एकै जाति समुदायका नहुने, राष्ट्रपति गैर–राजनीतिक विशेषज्ञ वा सांसद समावेश गराएर सरकार गठन गर्न सक्ने, मन्त्री बनेका सांसदको पद निलम्बन हुने जस्ता प्रावधानहरू पार्टीका मुख्य प्रस्तावमा समावेश छन् ।
प्रतिनिधि सभामा पूर्ण समानुपातिक प्रणाली, राज्यका अङ्गहरूमा आदिवासी, जनजाति, खस आर्य, मधेसी, दलित, मुस्लिमलगायत समुदायहरूको समानुपातिक अधिकार सुनिश्चित गर्ने नीतिगत अडान पनि पार्टीले राखेको छ । राज्य धर्मनिरपेक्ष रहने, तर व्यक्तिको धार्मिक स्वतन्त्रता सुरक्षित रहने, जबरजस्ती धर्म परिवर्तनलाई दण्डनीय मानिने, मुलुकभरका मौलिक भाषालाई राष्ट्रिय भाषा मानिने तथा शिक्षा र प्रशासनमा ती भाषाको प्रयोग गर्ने प्रस्ताव पनि सार्वजनिक गरिएको छ ।
पार्टीले जेन-जी आयोग बनाउने पनि घोषणा गरेको छ । धरानस्थित एक चिया पसलमा सामान्य कार्यक्रमबाट अवधारणा पत्र सार्वजनिक गरेका साम्पाङ अहिले सङ्गठन विस्तारसँगै चुनावी कार्यक्रमलाई आक्रामक ढङ्गले अघि बढाउनुभएकाे छ ।