खिचातानी र शक्ति प्रदर्शनपछि कांग्रेस महाधिवेशन गर्ने सहमतिमा कसरी पुग्यो ?

मंसिर १५, २०८२ |प्रकाश बम
खिचातानी र शक्ति प्रदर्शनपछि कांग्रेस महाधिवेशन गर्ने सहमतिमा कसरी पुग्यो ?

काठमाडौं । गत असोज ३० यताका डेढ महिना नेपाली कांग्रेसका लागि तनाव र सकसपूर्ण रह्यो। 

चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने, फागुनको चुनावअघि महाधिवेशन गर्न नहुने र मंसिर २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने गरी तीनथरि धारणा आएपछि चर्किएको विवादका कारण कांग्रेस निर्णयहीन बन्यो । अन्ततः सभापति शेरबहादुर देउवाको सक्रियताका कारण सबै धारहरूलाई समेट्दै कांग्रेसले पुस मसान्तमा महाधिवेशन गर्ने सहमति जुटाएको छ । यति धेरै खिचातानी र शक्ति प्रदर्शनपछि कांग्रेस महाधिवेशन गर्ने सहमतिमा कसरी पुग्यो ?

देउवाको सक्रियता र हस्तक्षेप

सभापति शेरबहादुर देउवाले गत असोज २८ गते उपचारका लागि विदेश जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । त्यतिखेर उहाँले सक्रिय राजनीतिकबाट विश्राम लिने संकेत पनि गर्नुभएको थियो । तर देउवाको अनुपस्थितिमा पार्टीभित्रको मतभेद झन् चर्कियो। विवाद चुलिन थालेपछि देउवा पुनः सक्रिय बन्दै हस्तक्षेप गर्नुभयो र महाधिवेशन नै विवाद समाधानको उपयुक्त मार्ग हुने निष्कर्षमा नेताहरू पुगे। देउवाले विशेष महाधिवेशनबाट बहिर्गमन गर्ने वा विभाजनको जोखिम लिन चाहनुभएको थिएन । यही कारण उहाँले सबैलाई सहमतिमा ल्याउँदै कार्यतालिका अघि बढाउनुभयो ।

नेता शेखर कोइरालाको मध्यमार्गी भूमिका

नेता शेखर कोइरालाले मध्यस्थताका साथ व्यावहारिक भूमिका खेलेपछि कार्यतालिकामा सहमतिमा झनै सहज बन्यो । कोइरालालाई महामन्त्री गगन थापा तथा विशेष महाधिवेशन प्रस्तावमा हस्ताक्षर गर्ने समूहले विशेष महाधिवेशनकै लागि नेतृत्व लिन आग्रह गरिरहेका थिए। तर कोइरालाले विशेष महाधिवेशनले पार्टी फुट्ने जोखिम बढाउने र चुनावपछि महाधिवेशन गर्दा संगठन कमजोर हुने तर्क अघि सार्नुभयो । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा वहालवाला केन्द्रीय समितिको अधिकार छ भन्ने उहाँको तर्कपछि संस्थापन पक्ष दबाबमा परेको थियो।

विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

नेता गुरु घिमिरेको नेतृत्वमा महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए। विधानअनुसार विशेष महाधिवेशन टार्न कठिन भएकाले उक्त समूहले पत्रकार सम्मेलन, विज्ञप्ति र विभिन्न भेला गर्दै दबाबलाई निरन्तरता दियो । यही दवाबले पार्टीलाई नियमित महाधिवेशनतर्फ धकेल्यो।

देउवा समूहका २४ भाइको हस्ताक्षर र विग्रह

देउवानिकट पदाधिकारी र बहुमत केन्द्रीय सदस्य वैशाखमै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका थिए। तर संस्थापनकै २४ सदस्यले चुनावअघि नै महाधिवेशनको माग राख्दै पार्टी कार्यालयमा हस्ताक्षर बुझाए, जुन संख्या बढ्दै २९ पुगेपछि दबाब झनै बढ्यो । विशेष महाधिवेशन पक्षधरहरूले कार्यबाहक सभापति खड्का, नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायत नेताहरुसँग छलफल गर्दै नियमित महाधिवेशनको वातावरण निर्माण गर्न अनुरोध गरेपछि वातावरण सहज बन्यो ।

महामन्त्री गगन थापा विश्वप्रकाश शर्माको दबाब

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा दृढ थिए । तर संस्थापन पक्षले आलटाल गर्दै जाँदा थापा विशेष महाधिवेशन गर्ने पक्षमा उभिनुभयो । तर सभापति देउवाले सबैलाई मिलाएर पुस अन्तिमको कार्यतालिका ल्याउन निर्देशन दिएपछि थापा समेत बाध्य हुनुपर्यो ।

विगतमा देउवाका प्रमुख सहयोगी रहेका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत नेताहरू अन्तिमसम्म महाधिवेशन नगर्ने पक्षमा थिए। उनीहरूले देउवालाई समेत महाधिवेशन नगर्न सुझाव दिइरहेका थिए। यसबीच नेता रमेश लेखकले देउवा, कार्यबाहक सभापति खड्का, महामन्त्री थापा, शेखर कोइराला तथा पूर्वपदाधिकारीबीच समन्वयकारी भूमिका निभाए। 

लेखकले देउवालाई नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन रोक्न नसकिने सन्देश दिएपछि देउवा निर्णायक बन्नुभयो । उहाँले पूर्वपदाधिकारीलाई बोलाएर तपाईंहरूले नगर्ने भए नगर्नुहोस्, म महाधिवेशन गर्छु भन्ने कडा अडान राख्नुभयो । यही दृढताले अन्ततः कार्यतालिका सहमतिमा टुंगियो।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।