नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कार्यबाहक सभापति खड्काले पुस अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गर्ने
मंसिर १५, २०८२ |प्रकाश बम
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

ललितपुर । पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २७–२९ गते नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभएको छ । बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी छ ।

सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र शीर्ष नेताको ३ दिनदेखि जारी छलफलमा कार्यतालिका ल्याउने सहमति भएको हो । यससँगै कांग्रेसमा डेढ महिनादेखि जारी महाधिवेशन विवाद मत्थर हुने संकेत देखिएको छ । नेताहरुबीच भएको सहमतिअनुसार आज बस्ने केन्द्रीय समिति बैठकमा आगामी पुस २७ देखि २९ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गरिने नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनका लागि क्रियाशील सदस्यता, विधान मस्यौदा तथा निर्वाचन गरी तीन वटा समिति गठन गरिनेछ । समितिले काम गर्न नसके पुन: छलफल गरेर सहमतिमा महाधिवेशनको समय सार्न सकिने पनि उहाँले बताउनुभयो ।

कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको थियो । पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् । गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको छ ।

सभापति शेरबहादुर देउवा गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर देशबाहिर जानुभएको थियो । तर फर्किँदासम्म पनि नेताहरूले सहमति जुटाउन नसकेपछि विवाद मिलाउन देउवा आफैँ सक्रिय हुनुभएको हो ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।