‘देशको स्वाधीनता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यक’

मंसिर १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘देशको स्वाधीनता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यक’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देशको स्वाधीनता, भू-अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (एमाले)का नेताहर"लाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान समेत गर्नुभयो । उहाँले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनलाई आफूले सुरूदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरूका जायज मागहरू सम्बोधन गर्न वाम एकता गरेको बताउनु भयो । 

उहाँले केहीले निर्वाचन जित्नको लागि मात्र एकता गरेको भन्ने टिप्पणी गर्ने गरेको भन्दै त्यो कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ति ल्याउनको लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरूलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको बताउनु भयो ।

उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गर्नुभयो । आफूले संसद् विघटन गर्दा ठिक भन्ने अहिले संसद् पुनःस्थापनाको माग गर्दै ओली बेतुकको तर्क गर्दै हिँडेको उहाँको आरोप छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.