
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने बताउनुभएको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलाई आग्रह गर्नुभयो । नेता रावलले सुदूरपश्चिम प्रदेशका कठिनाइलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अब प्रतिनिधि सभाको निर्वाचन फागुन २१ मा होस्, वा अरू दिन होस् । अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईंहरूलाई नेतृत्व दिनेछ । त्यो कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । यसमा तपाईंहरूले होष्टेमा हैसे दिनुहोस् । यो सुदूरपश्चिको नदी, विभिन्न सिंचाई आयोजना, हाम्रा वनस्पती, हाम्रो कृषि, युवाहरूको रोजगारीका लागि तपाईंहरू हामीलाई साथ दिनुहोस्, हामी दृढतापूर्वक तपाईंहरूलाई साथ दिन तयार छौँ । तपाईंहरूको कठिनाइमा नेपाली कम्युनिष्ट पार्टी सदा तयार छ ।’
नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाउनु भयो ।