
काठमाडौं । श्रीलंकामा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
बाढी र पहिरोले ६ सयभन्दा धेरै घरमा क्षति पुगेको छ । मुसलधारे वर्षाले श्रीलंकाका धेरै क्षेत्र जलमग्न भएका छन् । घर, खेत तथा सडकहरूसमेत डुवानमा परेका छन् । सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गरेको छ ।
राजधानी कोलम्बोबाट करिब तीन सय किलोमिटर पूर्वमा पर्ने बदुल्ला र नुवारा एलियाको मध्य पहाडी क्षेत्र सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ पहिरोमा २५ जनाभन्दा बढीको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । १४ जना घाइतेको उद्धार गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
लगातारको भारी वर्षाले जलाशय तथा नदीहरू भरिँदै गएका छन् भने सडक अवरूद्ध छन् । रेलमार्ग समेत अबरूद्ध बनेका छन् । पानी पर्ने क्रम नरोकिएकाले जोखिम अझै उच्च रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।