
काठमाडौं । धेरै राजनीतिक दलहरुबीच ध्रुवीकरण बढिरहेका बेला पुरानो दल नेपाली कांग्रेस भने विभाजन उन्मुख देखिएको छ । जेन–जी आन्दोलनपछि कांग्रेसमा सुरु भएको विवाद अहिले समाधानभन्दा पनि वार-पारको अवस्थामा पुगेको हो । सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विवाद मिलाउन पटक-पटक गरेको पहल सफल भएको छैन । बरु अविश्वास र वाकयुद्ध तीव्र बनेको छ । चुनावको मुखमा के नेपाली कांग्रेस साँच्चै विभाजन उन्मुख भएको हो त ?
नेपाली कांग्रेसको एकता अब ४ कुरामा अडिएको छ। हस्ताक्षर नै संकलन गरेर माग भएबमोजिम विशेष महाधिवेशन हुनुपर्ने एउटा पक्षको जोडदार लबिइङ छ। कांग्रेस महामन्त्रीहरु विशेष महाधिवेशन नभए चुनावअघि जसरी पनि नियमित नियमित महाधिवेशन हुनुपर्ने अडानमा छन्। नेतृत्व परिवर्तन हुनैपर्छ भन्ने उनीहरुको तर्क हो। संस्थापन पक्षका अधिकांश नेता चुनावअघि महाधिवेशन हुनै नसक्ने भनिरहेका छन्। यीनै चार विषयमध्ये एउटा विषयम सहमति नहुने हो भने नेपाली कांग्रेस विभाजनमा जाने कांग्रेस नेताहरु बताउन थालेका छन्।
जोखिम टार्नका लागि सभापति शेरबहादुर देउवाले प्रयास गरे पनि त्यसले नतिजा दिन सकेको छैन। देउवाले बिहीबार ७ पूर्वपदाधिकारीको समूहसँग छलफल गरी सहमतिको प्रयास गर्नुभयो । देउवासँग छलफल गरेका नेताहरुले निर्वाचनपछि मात्रै महाधिवेशन हुनुपर्ने अडान राखेका छन् । तर, महामन्त्री थापा पक्षका नेताहरु भने सकेसम्म नियमित महाधिवेशन नभए विशेषको विकल्प नभएको अड्डी कसेर बसेका छन् ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्ष चुनाव अघि महाधिवेशन गर्नुपर्ने अडानमा छन् । महामन्त्री थापा र शर्माले त नियमित महाधिवेशन नभए विशेष गर्न दबाब दिइरहेका छन् । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पूर्वपदाधिकारीहरु कुनै पनि हालतमा चुनावअघि महाधिवेशन नगर्ने अडानमा छन् । दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि सभापति देउवा र कार्यवाहक सभापति खड्काले पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउने कसरत पनि सुरु गरेका छन् । तर त्यसका लागि विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने सर्त छ । विशेष महाधिवेशन पक्षधरलाई भने यो मान्य छैन । विशेष महाधिवेशन कमजोर पार्ने उद्देश्यले नियमित महाधिवेशनको प्रस्ताव ल्याउन खोजिएको आरोप उनीहरुको छ । तर संस्थापन पक्षले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नलिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिँदै आएको छ ।
निर्वाचनअघि महाधिवेश सम्भव नभएको तर्क गर्दै आएको संस्थापन पक्ष केन्द्रीय कार्यसमितिको बुहमत देखाए अर्को पक्षलाई गलाउने रणनीति बनाइरहेको छ । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुलाई काउन्टर दिन भेला र छलफलसमेत यो समूहले गरिरहेको छ । अर्को समूहले पनि भेला र छलफल तीव्र पार्दै नेतृत्वलाई गलाउने रणनीति बनाएको छ । यसरी दुई पक्ष आ–आफ्नो हठमा रहँदै खुलेआम सार्वजनिक गतिविधि गरिरहँदा कांग्रेस जोखिममा परेको छ । दुवै पक्षले तत्काल मिलन बिन्दु पहिल्याउन नसके चुनाव अघि नै कांग्रेस सग्लो नरहन सक्छ ।