स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

मंसिर १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

भेटमा मन्त्री गौतमले नेपाल-भारतबीचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

राजदूत श्रीवास्तवले भारत-नेपाल सम्बन्धको महत्व दोहोर्याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण र जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.