एनपीएलमा काठमान्डु गोर्खाजको सानदार जित, चितवन ५३ रनले पराजित

दोस्रो खेलमा कर्णालीले ब्याटिङ रोजेपछि विराटनगर फिल्डिङमा
मंसिर १२, २०८२ |खेल ब्युरो
एनपीएलमा काठमान्डु गोर्खाजको सानदार जित, चितवन ५३ रनले पराजित

काठमाडौं । बलर हावी भएको खेलमा काठमान्डू गोर्खाजले चितवन राइनोजमाथि ५३ रनको जित हासिल गरेको छ। 

टीयू क्रिकेट स्टेडियममा १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन ८९ रनमा अल आउट भएपछि गोर्खाजले सहज जित हात पारेको हो । शुक्रबारको जितसँगै गोर्खाज पाँच खेलबाट ६ अंक बनाएर तेस्रो स्थानमा उक्लिएको छ। चितवनले भने तेस्रो हार ब्यहोरेको छ।

चितवनका कप्तान कुशल मल्लको टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय सही सावित हुन सकेन् । पहिले ब्याटिङमा आएको काठमान्डुले १९ ओभर चार बलमा अल आउट भएर १ सय ४२ रन बनाएको हो। काडमान्डुको ओपनिङमा आएका बेन चार्ल्स-वर्थले आकाश त्रिपाठीसँग मिलेर १४ रनको मात्रै साझेदारी गर्न सके । 

दोस्रो ओभरको अन्तिम बलमा ४ रन बनाएका आकाश त्रिपाठी रनआउट भए । उनलाई विकेटकिपर अर्जुन साउदले रनआउट गराए । राशिद खान ६ रनमा आउट भए । बेन चार्ल्स-वर्थलाई सोहेल तन्वीरले १३ रन बनाएको अवस्थामा क्याचआउट गराए । यतिबेला काठमान्डुले २४ रन मात्रै बनाएको थियो। तर खेलमा मिलिन्द कुमार र जोन सिम्पसनले मिलेर ९८ रनको साझेदारी गर्दै काठमाडौंलाई कमब्याक गराएका हुन्। 

सानदार इनिङ्स खेलेका सिम्पसनलाई कमलसिंह ऐरीले सेफ जैबबाट क्याचआउट गराएका हुन् । त्यसअघि नै बोपाराले मिलिन्दलाई बोल्ड गरेका थिए । एक सय २२ रन बनाउँदा पाँचौं विकेटका रूपमा सिम्पसनलाई गुमाएपछि उसले थप २२ रन बनाउँदा अर्को पाँच विकेट गुमाएको हो । खेलमा तन्वीरले पाँच विकेट लिए भने रन्जित कुमार र कमल ऐरीले समान २-२ विकेट लिएका हुन्।

जवाफमा चितवनका ब्याटरले विकेट टिकेर खेल्न नसक्दा १७ ओभर दुई बलमा ८९ रन बनाएर अलआउट भएको हो । दिपक बोहरा शून्यमा आउट भए । डाविड मलानले सात रन मात्रै बनाए । १६ रन बनाउँदा दुई विकेट गुमाएको चितवनका सेफ जैब एक र कुशल मल्ल ६ रन जोडेर आउट भए । चार विकेट गुमाउँदा चितवनको खातामा ३२ रन मात्रै थियो । 

देव खनालले १८ बलमा २१ रन बनाए पनि लामो पारी खेल्न सकेनन् । पाँचौं नम्बरका रवि वोपाराले पनि शुक्रबार पिचमा संघर्ष गरे। यसअघिका तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका उनले २३ बलमा २१ रन प्रहार गरे । सोहेल तन्वीरले १८ रन बनाए पनि बाँकी खेलाडी मैदानमा टिक्न सकेनन् ।

काठमान्डु लागि राशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै एक ओभर दुई बलमा तीन रन मात्रै खर्च गरेर तीन विकेट लिए । करण केसी, मिलिन्द कुमार र शाहब आलमको नाममा २-२ विकेट रह्यो ।