
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनहरुको लिखित जवाफ लेख्दै पूर्वप्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आफूले सिफारिस नगरेको र राष्ट्रपति पौडेलले संविधानको उल्लंघन गरेको आरोप लगाउनु भएको हो । ओलीले संवैधानिक प्रक्रिया अघि बढाउन आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको पनि प्रष्ट्याउनु भएको छ ।
आफ्नो राजीनामापछि संविधानको धारा ७६ वमोजिम नयाँ सरकार गठनका लागि आह्वान नगरी कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने काम संविधानको ठाडो उल्लघंन भएको उहाँको तर्क छ ।
सभामुख देवराज घिमिरेले पनि सरकार गठनविरुद्ध परेको रिटको जवाफमा प्रतिनिधि सभा विघटन र निर्वाचन मिति घोषणा दुवै असंवैधानिक भएको जिकिर गर्नुभएको छ । संविधानको पालक र संरक्षकबाटै संवैधानिक व्यवस्थाविपरीत कार्कीलाई प्रधानमन्त्री नियुक्ति गराईएको उहाँले उल्लेख गर्नुभएको छ । सभामुख घिमिरले असंवैधानिक प्रधानमन्त्रीको पहिलो निर्णयस्वरूप गरिएको संसद् विघटनको सिफारिस र त्यसका आधारमा गरिएको निर्वाचनको मिति घोषणा दुवै असंवैधानिक भएकाले कार्यान्वयन योग्य नरहेको दाबी पनि गर्नुभएको छ ।