
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा बलियो बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबारदेखि सिमरामा उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न निर्देशन दिएको हो ।
आयोगले आज विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन र संयमका साथ स्थितिलाई सामान्यीकरण गर्न भनेको हो ।
देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भईसक्दा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ गम्भीर हुन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।