
बारा । जेनजी युवाहरुको प्रदर्शनका कारण हिजो दिनभरी तनावग्रस्त बनेको बारा सिमराको अवस्था अहिले सामान्य बनेको छ ।
बिरोध प्रदर्शनको क्रममा नेकपा एमालेका कार्यकर्ताले जेन जी युवाहरुमाथि हातपात गरेपछि प्रदर्शन उग्र बनेको थियो । हात हाल्नेमाथि कारवाहीको माग गर्दै हिजो दिनभरि तनावग्रस्त बनेको सिमराको अवस्था साँझ ६ बजेपछि सामान्य बनेको हो । जेनजी युवामाथि हातपात गर्ने नेकपा एमालेका कार्यकर्तालाई कार्यवाही गर्न प्रशासन सहमत भएसँगै अवस्था सामान्य बनेको हो । हिजो राति ८ बजेसम्म प्रशासनले लगाएको कर्फ्यु पनि खुकुलो बनाइएको छ ।
यसअघि एमालेका कार्यकर्ता र जेन–जी युवाबीच एयरपोर्ट नजिक झडप भएपछि सिमरामा हुने सबै हवाइ उडान रद्द भएका थिए । हिजो दुईतर्फी गरेर आठ उडान रद्द गरेको बुद्ध एयरले आज दुईवटा अतिरिक्त उडान थपको जनाएको छ ।
प्रदर्शनपछि सिमरा विमानस्थल बन्द गरिएको थियो भने एमालेको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट हिँडेका नेताहरु त्रिभुवन विमानस्थलमै रोकिएका थिए ।