
काठमाडौं । विभिन्न जिल्लाका हिमाली र उच्च लेकाली क्षेत्रका बासिन्दा चिसो छल्न बेँसी र्झन थालेका छन् । तापक्रम निकै तल झरेपछि उनीहरू गाउँघर रुँग्ने केही मानिस घरमै छोडेर बस्तुभाउसहित बेँशी थालेका हुन् ।
उत्तरी मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको चीनसँग जोडिएको मुगु गाउँमा चिसो अत्यधिक बढेपछि त्यहाँका बासिन्दा औल झर्न थालेका छन् । समुद्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँका स्थानीय चैतसम्मका लागि सिरानचौर, चितै बगर, मुगु गमगढी, जुम्ला खलंगा, नेपालगञ्ज, सुर्खेत र्झन थालेको गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनुभयो । गाउँलेसँगै सीमा प्रहरीचौकी पनि जिल्ला सदरमुकाम सर्नेगरेको छ । १ सय २० घरधुरी रहेको गाउँमा कोही नभएपछि विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयसमेत बन्द हुनेगरेका छन् ।
त्यस्तै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ याङमा, लेलेपको खम्बाछेन, मिक्वाखोला गाउँपालिका ५ तोक्पेगोलाका बासिन्दा चिसो छल्न औल झर्न थालेका छन् । मंसिर लागेसँगै बन्द भएका घुन्सा, फले, ग्याब्ला, ओलाङचुङगोलाका विद्यालयहरू अब फागुनमा मात्रै खुल्नेछन् हिमाली बस्तीमा तापक्रम माइनस १७ डिग्रीसम्म झर्ने गर्छ ।
त्यस्तै दोलखाको विुगु गाउँपालिका १ लप्चीका स्थानीय पनि जाडो छल्न लुम्नाङ झरेका छन् । यो वर्ष असोज अन्तिम सातातिरबाटै चौंरी गोठाला र स्थानीयहरू लुम्नाङ झरेको स्थानीय कर्मा वाइर शेर्पाले बताउनुभयो । दोलखाको विगु, कालिञ्चोक, जिरी, शैलुङको माथिल्लो क्षेत्रका नागरिक र खर्कका चौंरी र भेडीगोठ औलतिर सार्ने गरिएको हो ।