
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा भएको घटनालाई 'अत्यन्तै दु:खद' भन्दै लोकतन्त्रमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताउनुभएको छ । सिमरा घटनाबारे सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्वन्धित सबैमा निर्देशन दिनुभएको छ ।
युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै प्रधानमन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रताको सम्मान सरकारको प्रतिबद्धता भएको बताउनुभएको छ । बाराको सिमरा विमानस्थल गेट अगाडि हिजो एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि कर्फ्यू लगाउनुपर्ने स्थिति आएको थियो। एमालेले बाराको परवानीपुरमा आयोजित आफ्नो कार्यक्रम भाँड्न जेनजी युवाहरूले अवरोध खडा गरेको आरोप लगाएको छ।
जेनजी प्रतिनिधिहरूले भने एमाले कार्यकर्ताबाट आफूमाथि कुटपिट र दुर्व्यवहार भएको दाबी गरिरहेका छन्। प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ ।