
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको फैसलाको प्रतीक्षा गर्दै मंगलबार ९औं दिन पनि सात दलको जनकपुरधाममा धर्ना जारी छ ।
नवौँ दिन मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनको मुख्य ढोका अगाडि सडकमा नै सात दलका नेता–कार्यकर्ताहरू धर्नामा बसेका छन् । सर्वोच्च अदालतको फैसला कुर्दै शान्तिपूर्ण धर्नामा बसेको आन्दोलनरत सांसदहरूले बताएका छन ।
सर्वोच्च अदालतमा सरकार गठन संवैधानिक रहेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलगायत मधेश प्रदेशका ७४ जना सांसदको हस्ताक्षरसहित रिट दायर गरिएको थियो । सर्वोच्च अदालतमा परेको रिटमाथि मंगलबार पनि सुनुवाइ हुने समय तोकिएको छ ।
महोत्तरीको कालापानी स्थित एक होटलमा ठुलाे दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायत अन्य तीन जना मन्त्रीको नियुक्ति संवैधानिक रहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै सात दलले मधेशमा आन्दोलन थालेका हुन् ।
गएको कार्तिक २३ गतेदेखि आन्दोलनरत सात दलले महाभियोग प्रस्ताव दर्ता गराएको झोकमा सभामुख मण्डलले प्रदेश राजपत्रमा सूचना प्रकाशनसहित पाँच जना सांसदहरूलाई गर्नुभएको पदमुक्त कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।