महाधिवेशन विवादले कांग्रेसमा वार-पारको स्थिति

मंसिर १, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाधिवेशन विवादले कांग्रेसमा वार-पारको स्थिति

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर सुरू भएको विवाद गम्भीर अवस्थामा पुगेको छ । 

चुनाव अघि महाधिवेशन गर्ने कि पछि भन्नेमा एकमत हुन नसक्दा कांग्रेसमा वार-पारको स्थिति देखिएको हो । सिंगापुरमा उपचार गराएर फर्किएका सभापति शेरबहादुर देउवा अहिले विवाद मिलाउन आफैं सक्रिय हुनुभएको छ । तर संस्थापन पक्षका नेताहरू नियमित र विशेष दुवै महाधिवेशन रोक्ने अडानमा छन् भने महामन्त्री गगन थापा विशेष महाधिवेशनको तयारीमा जुट्नुभएको छ । यसले पार्टीभित्र गम्भीर संकट सिर्जना हुने संकेत देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंगापुरबाट फर्किएलगत्तै पार्टीभित्रको विवाद मिलाउन पहल गर्नुभएको छ । उहाँले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशरण महत, एनपी साउद, ज्ञानेन्द्र कार्कीलगायतका नेताहरूलाई बोलाएर छलफल गर्नुभएको छ । देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको भए पनि विवाद बढ्न थालेपछि आफैं सक्रिय हुनुपरेको हो ।

यता कार्यवाहक सभापति खड्काले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरेर सबैलाई समेट्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरिरहनुभएको छ । महामन्त्री शर्माले सभापति देउवासँग भेटेर आगामी फागुन २१ गते हुने चुनावअघि पार्टीको १५ औँ महाधिवेशन नभए महामन्त्री पदबाट राजीनामा दिने जानकारी गराइसक्नुभएको छ । 

यता अर्का महामन्त्री गगनकुमार थापा भने विशेष महाधिवेशनको तयारीमा जुट्नुभएको छ । विशेष महाधिवेशनको कार्यविधि बनाउन र हस्ताक्षर सनाखत गर्ने विधिका विषयमा उहाँले काम थाल्नुभएको हो । चुनावअघि नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशन अनिवार्य भएको थापा निकट नेता बताउँछन् ।

त्यसो त संस्थापन पक्षका नेताहरू भने चुनावअघि नियमित र विशेष दुवै महाधिवेशन रोक्ने रणनीतिमा छन् । उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति खड्कालगायतलाई भेटेर चुनावअघि कुनै पनि हालतमा महाधिवेशन नगराउन दबाब दिइरहेका छन् । दुवै पक्ष आ-आफ्नो दिशामा अघि बढ्ने र सहमतिको बिन्दू पहिल्याउन नसक्ने हो भने कांग्रेस जटिलतातर्फ धकेलिने निश्चित जस्तै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.