चीनसँगको नाका असहज हुँदा पुरानै स्टकमा निर्भर बजार

मंसिर ३, २०८२ |सुमन पन्थ
चीनसँगको नाका असहज हुँदा पुरानै स्टकमा निर्भर बजार

काठमाडौं । यसपटकको जाडो अधिकांश नेपालीले चीनबाट पोहर नै आयात गरिएका कपडामा टार्नुपर्ने भएको छ। 

पुरानै डिजाइनका कपडा पनि महंगो भाउमा किन्नुपर्ने अवस्थासमेत बनेको छ। कारण हो, पाँच महिनादेखि चीनतर्फका नाका नियमित सञ्चालन नहुनु । यसपटकको जाडो छेक्ने कपडा बजारमा कति आए, कस्ता आए ?  नेपालसँग जोडिएका चीनतर्फका नाका नियमित नहुँदा चिसोका लागि चाहिने लत्ता कपडा पर्याप्त आउन नसकेको व्यापारीहरू बताइरहेका छन्। 

तातोपानी र केरूङ नाका नियमित नहुँदा कतिपय व्यवसायीहरूले मुस्ताङको कोराला नाकाबाट थोरैमात्र सामान ल्याउन पाएको बताए । आपूर्ति नियमित नहुँदा काठमाडौंका व्यापारीहरूले ग्राहकलाई पुरानै स्टकका कपडा थमाएका छन् । गत वर्ष १५ सय रूपैयाँमा बिक्री भएका सामान्य ज्याकेट अहिले २ हजार देखि २५ सयसम्म पर्ने गरेको छ। 

सामान नआएपछि काठमाडौंबाट जिल्ला जिल्ला जाने सामान पनि न्यून भएको छ । यसको अर्थ हो, यसपालि ग्राहकले पहिले नै ल्याएका कपडाले यो जाडो धान्नुपर्नेछ, त्यो पनि महंगोमा । असारमा आएको बाढीका कारण अवरूद्ध रहेको केरूङ नाका अहिलेसम्म नियमित हुन सकेको छैन । 

दशैँका लागि ल्याइएका सामान काठमाडौं आइपुग्नै नसकेको व्यवसायीको भनाइ छ । काठमाडौंका थोक बजार चीनमा उत्पादित लत्ताकपडामा आश्रित छ । किफायती मूल्यका कारण लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानमा धेर जसो चिनबाट आउने गरेको छ । न्यून र मध्यमवर्गीय नेपाली चिनियाँ सस्तो सामानमा अभ्यस्त छन् । चिनियाँ सामानमा निर्भर बजारमा लामो समयसम्म आपूर्ति रोकिँदा बजारले गति नै लिन सकेको छैन ।

व्यवसायीका अनुसार तातोपानी नाकाबाट सामान्य अवस्थामा दैनिक ३० वटासम्म ट्रक नेपाल आउने गरेकोमा अहिले दैनिक ५ वटासम्म आएका छन् । नेपालमा खपत हुने सामानमध्ये ८० प्रतिशत भन्दा धेरै चिनमा बनेका सामानले धानेको छ । भदौ २३ र २४ को आन्दोलनपछि चिनियाँ पक्षले नाकामा थप कडाइ गरिरहेको छ । यता वाणिज्य मन्त्रालयले भने व्यापार सहजीकरणका लागि काम भइरहेको दाबी गरेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।