
काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गर्नुभएको छ ।
सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गर्नुभएको हो । उहाँले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताउनु भयो ।
राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उहाँको दाबी छ । उहाँले आफूहरू दीर्घकालीन हिसाबले राजनीतिमा प्रवेश गरेको बताउनु भयो । उहाँले देशका सन्ततीहरूका लागि त्याग, निष्ठा, इमान्दारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताउनु भयो ।
उहाँले जेन-जी पुस्ताको आन्दोलन पश्चात् पार्टीको संगठनिक कार्य सुरू गरेको बताउनु भयो ।