प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । 

भदौ २३ र २४ गतेको घटनासम्बन्धि जाँचबुझ आयोगमा निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । कार्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत कोर्डिनेशन बैठकको नवौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिएको छ । 

त्यस्तै सरकारले भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ । प्रवक्ता खरेलकाअनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाभ कर्णलाई नियुक्त गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.