काठमाडौं । सबैभन्दा पुरानो दल नेपाली कांग्रेस अहिले ऐँठनमा छ।
जेन-जी आन्दोलनपछि देशकै पुरानो यो दल वैचारिक शून्यताको अवस्थामा छ । जेन-जी आन्दोलनभन्दा अघिका हरेक राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कांग्रेस अहिले भने निकासको बाटो पहिल्याउने ठाउँमा त कता हो कता, कुनै पनि विषयमा स्पष्टसमेत छैन ।
जेन-जीको विद्रोहपछि गठन भएको अन्तरिम सरकार, प्रतिनिधि सभा विघटन, फागुन २१ को निर्वाचनमा मात्र होइन आफ्नै पार्टीको महाधिवेशनको कार्यतालिका बनाउने विषयमा पनि कांग्रेसले निर्णय गर्न नसकेर वैचारिक शून्यताको अवस्थामा पुगेको हो ।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलमात्र होइन, जेन-जी आन्दोलनपछि अपदस्थ सरकारको महत्वपूर्ण घटक हो नेपाली कांग्रेस । प्रतिनिधिसभा विघटनबारे कांग्रेसको आधिकारिक धारणा के हो ? स्पष्ट पारेको छैन । सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ। चुनावका बारेमा पनि कांग्रेसको ठोस धारणा छैन।
सानेपामा झन्डै एक महिनादेखि जारी केन्द्रीय समिति बैठक पार्टीको महाधिवेशन चुनाव अघि कि पछि भन्ने बहसमा केन्द्रित छ । यो सुन्दा कांग्रेस चुनावकै पक्षमा हो कि भन्ने देखिन्छ । तर उसले फागुनको चुनावमा जाने कि नजाने भन्ने निर्णय नै गरेको छैन। पार्टीका नेता कार्यकर्ताहरूको काठमाडौंका विभिन्न ब्याङ्केट र नेताका घरमा भेला र बैठक नभएका होइनन्, तर यी सबै महाधिवेशनकै विषयमा केन्द्रित छन्।
जेन-जी आन्दोलनका बारेमा कांग्रेसका नेताहरूको फरक-फरक धारणा सार्वजनिक भएका छन्। तर सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेर छोडेको कांग्रेसले जेन-जी आन्दोलनबारे पनि पार्टीको धारणा बोलेको छैन। जेन-जीले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको मुद्दा उठाएका हुन् । तर देशकै सबैभन्दा पुरानो दल कांग्रेस यी सबै विषयमा कतै छैन। बरू कांग्रेसका लगातारका बैठकहरू विशुद्ध प्राविधिक विषयमा अल्झिएका छन्, पार्टी विचार शून्यताको अवस्थामा छ।
सुशीला कार्की नेतृत्वको सरकार अन्तरिम हो । यसबारे कांग्रेसको बुझाइ के हो ? यसबारे कांग्रेसका नेता कार्यकर्ताहरू आ-आफ्नै तालमा बोल्दैछन् तर पार्टीको दृष्टिकोण के हो, उनीहरू भन्न सक्दैनन् । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मागमासँगै उभिन आह्वान गर्दा कांग्रेसजनलाई सरकारतिर हेर्ने कि एमालेतिर हेर्ने भन्ने अन्योल छ। एउटा कुरा भने नेताहरूले भनिरहेकै छन्, सुरक्षाको वातावरण बनाउनुपर्यो ।
स्थापनाकालदेखि भदौ २२ गतेसम्म देशको प्रमुख राजनीतिक शक्ति बनेको कांग्रेसले, २००७ देखि २०६२ र ६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको इतिहास बोकेको पार्टीका रूपमा अब पनि ठोस निर्णयसहित आउनुपर्ने अपेक्षा जनतामा थियो । तर संक्रमणका बेला स्पष्ट र अडिलो विश्वास दिलाउन सक्नुपर्ने दल आफैं अलमल र अनिर्णयमा फसेको छ।