काठमाडौं । निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गर्न सात दिनमात्र बाँकी रहँदा अहिलेसम्म १९ नयाँ दलले निवेदन दिएका छन् ।
दल दर्ताका लागि निवेदन दिनेहरूमा राजनीतिक पृष्ठभूमिका मात्र छैनन्, जेन-जी समूह, व्यापारी, पूर्वसांसददेखि पूर्वराजदूतसम्मले राजनीतिमा चासो देखाएका छन् । यसले फागुन २१ को चुनावमा नयाँ समीकरण र प्रतिस्पर्धाको संकेत त दिएको छ नै रोचक पनि हुने देखिएको छ ।
नयाँ दल दर्ता गर्ने समय एक सातामात्र बाँकी रहँदा आयोगमा दल दर्ता गर्नेहरूको घुइँचो बढ्दै गएको छ । आइतबारसम्म आयोगमा १९ नयाँ दलले दर्ताको निवेदन दिएका छन्, तिनीहरूमाथि आयोगले अध्ययन गरिरहेको छ । आयोगमा दल दर्ताको निवेदन जति परेका छन्, उनीहरूको पृष्ठभूमि पनि त्यति नै रोचक बन्दै गएको छ । दल दर्ताको निवेदन दिनेमा व्यापारीदेखि पूर्वराजदूत, सामाजिक अभियन्ता, जेन-जी तथा पूर्वसांसद समेत छन् ।
व्यापारी पृष्ठभूमिका बुद्ध एयरका सञ्चालक बिरेन्द्रबहादुर बस्नेतले प्राध्यापक दिनेश प्रसाईँलाई अध्यक्ष बनाएर गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन दिनुभएको छ । त्यसैगरी पूर्वराजदूत समेत रहनुभएका नवराज सुवेदीले जनयुग पार्टी दर्ताका निवेदन दिनुभएको छ ।
जनमोर्चाको सांसददेखि माओवादी, नयाँ शक्ति हुँदै जसपामा पुग्नुभएका सुवेदी साउदी अरबका लागि राजदूत नियुक्ति हुनुभएको थियो । नयाँ पार्टी दर्ता गर्नेमा निवर्तमान सांसद योगेन्द्र मण्डलसमेत हुनुहुन्छ । राष्ट्रिय उर्जाशील पार्टी दर्ताका लागि निवेदन दिनुभएका मण्डलले २०७९ को निर्वाचनमा एमालेबाट टिकट नपाएपछि मोरङ-५ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजय हुनुभएको थियो ।
जेन-जी समूहबाट अजयकुमार राई नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि पनि निवेदन परेको छ । जसमा केही आन्दोलनका घाइते परिवारबाट केन्द्रीय सदस्य छन भने बाँकी सबै जेन-जी उमेर समूहका व्यक्ति मिलेर पार्टी दर्ता गर्न खोजिएको छ । यस्तै हिराप्रसाद सेती नेतृत्वको राष्ट्रिय जेन-जी पार्टीको नाममा पनि निवेदन परेको छ ।
यसबाहेक विगतमा निर्वाचन बहिस्कार गर्दै आउनुभएका नेत्रविक्रम चन्दले पनि कम्युनिष्ट पार्टी नेपाल दर्ताका लागि निवेदन परेको छ । विगतमा माओवादी निकट ज्ञानेन्द्रबहादुर तामाङले उज्यालो नेपाल पार्टी दर्ता गर्नुभएको छ । पेशाले शिक्षक तामाङ अवकाशपछि सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो ।
यसैगरी हालैमात्र मन्त्रीमा सिफारिस भएर अन्तिम समयमा नाम फिर्तामा पर्नुभएका दलित अभियान्ता खगेन्द्र सुनारले पनि हाम्रो पार्टी नेपाल दर्ता गराउन निवेदन दिनुभएको छ । खासगरी संवैधानिक निकायमा दलित प्रतिनिधित्व खोज्दै अभियान चलाउँदै आउनुभएका खगेन्द्र राजनीतिक पार्टी निर्माणमा जुट्नुभएको छ ।
सुन्दर नेपाल निर्माणका अभियन्ता चन्द्रप्रकाश सुवेदीले पनि आफ्नै अभियानलाई पार्टीमा रूपान्तरण गरेर लैजाने गरी सुन्दर नेपाल निर्माण पार्टी दर्ताको निवेदन दिनुभएको छ । यसबाहेक हिमालबहादुर चन्दले राष्ट्रिय यूवा पार्टी नेपाल, सविन सिग्देलको राष्ट्रनिर्माण पार्टी,रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता र रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी दर्ताको लागि निवेदन परेको छ ।
आइतबारमात्रै डा. सुन्दरराम बोहराको नागरिक आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडा नागरिक बचाउ दल र राजकुमार कक्षपतिको नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रले निवेदन दिएका छन् । अब एक सातामा अन्य केही समूहले पनि दर्ताका लागि निवेदन दिने तयारी गरिरहेका छन् । यसले आगामी निर्वाचनमा नयाँ शक्तिहरूको सहभागिताको सम्भावना बलियो देखिएको छ ।