काठमाडौं । फागुन २१ को निर्वाचनबाट फेरि पुरानै राजनीतिक दलहरू शक्तिमा आउने त होइनन् ? भन्ने प्रश्नका बीच वैकल्पिक शक्ति निर्माणको कसरत व्यापक बनेको छ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदै चर्चा कमाएर हाल मन्त्री बनेका कुलमान घिसिङदेखि माओवादीबाट अलग भएर नयाँ शक्ति स्थापना गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसम्मै यो दौडमा सहभागी छन्। उज्यालो नेपाल अभियान सञ्चालन गर्दै आउनु भएका कुलमान घिसिङ, पहिचानवादी मोर्चाका नेतृत्वकर्ता महेन्द्र लावती, रास्वपाबाट अलग हुनुभएकी सुमना श्रेष्ठको समूह, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको समूह, जेन-जी आन्दोलनपछि चर्चामा रहेका सुदन गुरूङलगायत राजनीतिक दल दर्ताको कसरतमा छन् ।
बालेन्द्र शाह र सुदन गुरूङ बाहिर नखुल्ने तर समर्थन गर्ने गरी तयारी भएको पहिचानवादी मोर्चाका महिन्द्र लावतीले जानकारी दिनुभयो । पार्टीको नाम उज्यालो नेपाल वा जनभावना राख्नेमा मोटामोटी सहमति जुटिसकेको चुनाव चिन्ह लालटिन वा हाल जोडेर नमस्कार गरेको राख्नेमा सहमति जुट्न बाँकी रहेको लावतीको दाबी छ । चुनाव चिन्ह र झन्डामा सहमति जुटे भोलिसम्ममा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी रहेको छ ।
कुलमान घिसिङ आफ्नो अभियानमा जेन-जी आन्दोलनपछि चर्चामा रहेका अनुहारसहित विभिन्न मोर्चा र समूह सामेल गराएर वैकल्पिक राजनीतिक दल बनाउने दौडमा हुनुहुन्छ । घिसिङले मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझा लगायतले पनि विचार मिल्नेसँग पार्टी एकता नभए कार्यगत एकताका लागि संस्थागत निर्णय गरेर आह्वान गरिसकेका छन्।
कम्युनिष्ट नेतात्रय नेत्रविक्रम चन्द, घनश्याम भूसाल र जनार्दन शर्मा पनि कम्युनिष्ट अलायन्स बनाउन प्रयासरत छन् । लामो इतिहास र वडा-वडामा संगठन भएका दललाई चुनौती दिन पनि वैकल्पिक शक्ति एक हुनुपर्ने हो । तर, आफूलाई वैकल्पिक दल मान्ने मात्र होइन नयाँ राजनीतिक दल खोल्ने पनि अरुको अस्तित्व स्वीकार गर्ने पक्षमा छैनन् । त्यसैले छिन्नभिन्न छन् ।
रास्वपाका खनाल र विवेकशील साझाकी बाँस्कोटाले भने नयाँ र वैकल्पिक शक्ति एक नभए त्यसको फाइदा पुरानाले लिने हुँदा वैकल्पिक शक्तिहरूको एउटै मोर्चा बनाउनु आवश्यक रहेको ठान्छन् । पछिल्लो समय जेन-जी अगुवाहरूलाई साथ लिएर राजनीतिक दल बनाउन कसरत गर्ने र सके नाम चलेका जेन-जी आफ्नो कित्तामा रहेको देखाउने होड नै चलेको छ ।
जेन-जी अगुवाहरूले भने आग्रह-पुर्वाग्रह प्रेरित भएर आए नयाँ होस् वा पुराना कोहिसँग एकता नहुने जिकिर गर्छन् । भदौ २३ र २४ पछि बदलिएको राजनीतिसँगै दल र समाजमा परिचित अगुवाहरू आफूलाई कसरी हुन्छ, केन्द्रभागमा राख्ने र लोकलाई आकर्षण गर्ने प्रयासमा छन् ।
यो दौडमा झन्डै दशकअघि नयाँ शक्ति नेपाल गठन गरेर वैकल्पिक राजनीतिको उद्घोष गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत हुनुहुन्छ । वैकल्पिक शक्ति निर्माणको पक्षमा वकालत गर्ने हरेकजसो नेता र समूहसँग भट्टराई परामर्शमा हुनुहुन्छ भलै उहाँले आफ्नो दल नेकपा समाजवादी पार्टीको नेतृत्वबाट अलग भएको घोषणा गर्नुभएको छ।
यी सबै समूह र दलको एउटै भाव छ- परम्परागत दलहरूलाई धक्का दिने शक्ति निर्माण आवश्यक छ । तर विचारमा अस्पष्टता, नेतृत्वको होड र लोकरिझ्याइँको आडमा वैकल्पिक शक्ति निर्माणमा भने सकस छ ।