
काठमाडौं । मधेश प्रदेशमा अब नयाँ सरकार गठन कसरी हुने भन्ने विषयमा चर्चा सुरू भएको छ ।
विश्वासको मत नलिँदै मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुने हो कि उपधारा (४) अनुसार भन्ने विषयमा बहस चलेको हो । यस विषयमा कानुनका जानकारहरूले फरक-फरक अभिमत व्यक्त गरेका छन् ।
संविधानअनुसार धारा १६८ (२) अन्तर्गत नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि संसद्को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुने संविधानविद् चन्द्रकान्त ज्ञवालीले बताउनुभयो । संविधानको धारा १६८ (३) मा प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्थ नभएमा वा त्यसरी नियुक्ति मुख्यमन्त्रीले उपधारा (४) बमेजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नेछ भन्ने व्यवस्था छ ।
यसैगरि अधिवक्ता सुनिल रञ्जनका अनुसार, मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै राजीनामा दिएको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुने बताउनुभयो । विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले राजीनामा दिएपछि यदि कुनै दललाई स्पष्ट बहुमत प्राप्त छैन भने प्रदेश प्रमुखले प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानमा रहेको उहाँले बताउनुभयो ।
संविधानको धारा १६८ (२ ) बमोजिम असोज २९ गते सोनल मुख्यमन्त्री नियुक्ति हुनुभएको थियो । उहाँलाई जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको थियो ।