काभा महिला यू-१९ च्याम्पियनसिपमा नेपाल रजत पदकमा रोकियो

किर्जिजस्तानसँग फाइनलमा पराजित हुँदा स्वर्ण जित्ने अवसरबाट वञ्चित
कार्तिक २३, २०८२ |खेल ब्युरो
काभा महिला यू-१९ च्याम्पियनसिपमा नेपाल रजत पदकमा रोकियो

काठमाडौं । नेपालले काभा महिला यू-१९ च्याम्पियनसिपमा रजत पदक जितेको छ। 

श्रीलंकामा आइतबार भएको फाइनल खेलमा किर्गिस्तानसँग पाँच सेटमा पराजित भएपछि नेपाल पहिलो पटक उपाधि जित्नबाट चुकेको हो। खेलको पहिलो सेट २५-२२ ले जितेको नेपाली टिमले दोस्रो सेटसम्म पनि लय कायम राख्न सकेको थिएन । पहिलो सेटमा नेपालले १४-८ र १९-१८ को अग्रता बनाउँदै जितसम्म पुगेको हो। तर दोस्रो सेटमा एक समय १४-१२ को अग्रता बनाएको नेपालविरूद्ध १७-१८ मा कमब्याक गरेर किर्गिस्तानले २५-२० को जित हासिल गरेको हो। 

तेस्रो सेटमा नेपालले सुरूआतबाट साँघुरो अग्रता बनाएको थियो तर अन्तिम समयतिर डिफेन्समा चुक्दा नेपाल २५-२१ ले पराजित भयो। यससँगै किर्गिस्तानले खेलमा पकड बनाएको थियो। चौथो सेटमा किर्गिस्तानले महत्वपूर्ण केही खेलाडीलाई आराम दिएपछि नेपालले सहजै २५-१३ को जित हासिल गरेको थियो।

पाँचौ तथा अन्तिम सेटमा अनिवार्य जितको आवश्यकता रहेको अवस्थामा ५-३ को अग्रता बनाएको नेपालविरूद्ध किर्गिस्तानले पुनरागमन गरेको हो। अन्तिममा १५-११ को जितसहित किर्गिस्तानले उपाधि जित्दा नेपाल भने रजत पदकमा चित्त बुझाउन बाध्य भयो। गत वर्षको च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो।