
काठमाडौ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिकामा अझै सहमति जुट्न सकेको छैन ।
जारी केन्द्रीय समितिको बैठकमा महाधिवेशन फागुन २१ को निर्वाचन अघि गर्ने कि पछि भन्नेमा विवाद भएको हो । महाधिवेशनको कार्यतालिकाका विषयमा केन्द्रीय समितिको बैठकमा आजसम्म १ सय २० जना सदस्यले आफ्नो धारणा राखेका छन्। संस्थापन पक्षका नेताहरूले चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन् । तर नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षाका केन्द्रीय सदस्यहरूले चुनाव अघि नै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने मत राखेका छन् ।
जेन-जीहरूले उठाएका माग सम्बोधन गरी पार्टी अघि बढ्नुपर्नेमा अधिकांश सदस्य एकमत भए पनि महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन । संस्थापन पक्षका नेताहरूको फागुन २१ को आमनिर्वाचनपछि वैशाख २७ देखि २९ गते महाधिवेशन गर्नुपर्ने भनेका छन् । तर महामन्त्री थापा पक्षका नेताहरूले निर्वाचनअघिनै पुस १६ देखि १९ गतेसम्म गर्नुपर्ने अडान राखेपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।