
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेन-जी विद्रोहका कारण लुकेर बसेका पुराना भ्रष्ट नेताहरु फेरि टाउको उठाउने प्रयास गरेको भन्दै उनीहरुलाई निर्वाचनबाटै परास्त गर्न नयाँ वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आज भएको जेन-जीसहितका अगुवाहरुको छलफलमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तोकिएको समयमै चुनाव गरेर नयाँ र वैकल्पिक शक्तिहरुलाई अघि ल्याउनुपर्ने बताउनुभयो । हात्तीसँग लड्न सजिलो नहुने उहाँले एकजुट भएर अघि बढ्न जेनजी र अगुवाहरुलाई सुझाव दिनुभयो । जनतामा बढ्दै गएको निरासा चिर्न नसकिए देशमा झन् ठूलो खतरा बढ्न सक्ने उहाँको दाबी छ ।
छलफलमा भट्टराईसहित, रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा, सुदन किँराती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा लगायत सहभागी हुनुहुन्थ्यो।
नेसपा नयाँ शक्तिले जेन-जीका प्रतिनिधिहरुसँगसमेत आजै छलफल गरेको छ ।