राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्ति एक भएका हौँ : संयोजक दाहाल

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्ति एक भएका हौँ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उहाँले त्यस्तो सङ्कट हाल गर्न कम्युनिष्ट पार्टी एक भएर अभियान चलाउन लागिएको बताउनुभयो ।

“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ”, उहाँले भन्नुभयो । विगतको कमजोरी सच्याउनुको विकल्प नभएको उल्लेख गर्दै संयोजक दाहालले पार्टी नेता र कार्यकर्ताको सुझावका आधारमा पार्टी सञ्चालन गरिने प्रतिबद्धता गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई ध्रुव्रीकृत गर्ने अभियान सञ्चालन गरिने उद्घोष गर्दै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षार्थ कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिसँग हातेमालो गर्नुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीलाई देशको १ नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गर्दै उहाँले देशभर एकता घोषणा अभियान र चुनावी गतिविधि सञ्चालन गरिने बताउनुभयो । आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै नबिर्सने उल्लेख गर्दै संयोजक दाहालले भन्नुभयो, “सम्भवतः १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ-आफ्नो ठाउँमा वैचारिक सङ्घर्षबाट गुज्रेका नेताबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.