पार्टी दुई-तीन जना नेताको बन्धक बनेको कांग्रेस संस्थापन पक्षीय नेताहरूको आरोप

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी दुई-तीन जना नेताको बन्धक बनेको कांग्रेस संस्थापन पक्षीय नेताहरूको आरोप

काठमाडौं । पार्टीको १५औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरू अलग्गै छलफलमा जुटेका छन् ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा जारी उक्त छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् । पार्टीको इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छ भने संस्थापन पक्ष निर्वाचनपछि मात्र अधिवेशन धकेल्ने पक्षमा देखिएको छ । 

छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा भइरहेको छलफलमा सहभागी पार्टी केन्द्रीय सदस्य गुरू बरालले बताउनु भयो । उहाँले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने गरी महाधिवेशनको मिति तोकिनुपर्ने पनि बताउनु भयो । 

उहाँले महाधिवेशन र चुनावको तयारी सँगसँगै कसरी गरेर जाने भन्ने विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले पछिल्लो समय पार्टी एक-दुई जना नेताको बन्धक बनेको भन्दै छलफलबाट केन्द्रीय समितिमा नयाँ प्रस्ताव लैजाने तयारी भइरहेको पनि बताउनु भयो ।

महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन । अर्को बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.