
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विवाद चर्कंदै जाँदा समूहगत भेला तथा छलफल जारी छन् ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर समूहले साेमबार पार्टी नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ भने संस्थापन पक्षले बानेश्वरमा भेला आयोजना गरेको छ । विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले नेता शेखर कोइरालालाई बालुवाटारस्थित उहाँको सम्पर्क कार्यालय पुगेर छलफल गरेको हो ।
पार्टी नेता शेखर कोइरालालाई भेटेर चार वर्षे कार्यकालभित्रै १५औं महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको नेता गुरूराज घिमिरेले जानकारी दिनुभयो । छलफलमा क्रममा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचनको अहिलेको एकमात्र बाटो रहेको नेता कोइरालाले बताउनुभएको थियो ।
नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्न उहाँले प्रतिबद्धता जनाउनुभएको कांग्रेस नेता मनोजमणि आचार्यले बताउनुभयो । यता, संस्थापन पक्षले भने बानेश्वरस्थित एक बैंक्वेटमा भेला आयोजना गरेको छ। भेलामा विशेष महाधिवेशन पक्षधरले संकलन गरेको महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सनाखत गराउन दबाब दिनेबारेमा छलफल हुने जनाइएको छ।