काठमाडौं । जेन–जी आन्दोलनपछि राजनीतिक दलहरूभित्र विवाद र विग्रह देखा परिरहेका बेला नेपाली कांग्रेसमा पनि महाधिवेशनको विवाद झन् चर्कँदै गएको छ ।
महाधिवेशन कार्यतालिका विवादका कारण आइतबारको केन्द्रीय समिति बैठक स्थगित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा तनावको स्थिति देखियो । युवाहरूले केन्द्रीय कार्यालयमा तालाबन्दी र नाराबाजी नै गरे । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे केन्द्रीय कार्य समितिको बैठक बोलाइएको थियो । तर केन्द्रीय सदस्यहरू पुग्नुअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिइसकेका थिए ।
कारण हो कांग्रेसका यूवाहरूको विरोध र प्रदर्शन । यथासिघ्र नियमित महाधिवेशनको कार्यातालिका सार्वजनिक गर्नुपर्ने र सबै तहका निर्वाचनमा ४० प्रतिशत युवाको सहभागिताको मागसहित यूवाहरूले प्रदर्शन गरे । युवाहरूले नियमित महाधिवेशन गर्न नसके वर्तमान केन्द्रीय समिति विघटन गर्नुपर्नेलगायतका माग राख्दै नाराबाजीसमेत गरे । नाराबाजीकै बीच केन्द्रीय समिति बैठक स्थगित भएको सूचना आएपछि उनीहरूले केन्द्रीय कार्यालयमा तालाबन्दी नै गरे ।
बैठकका लागि सानेपा पुगेका केन्द्रीय सदस्यहरूसमेत नाराबाजी र तालाबन्दीसहित तनावको माहोल देखेपछि अलमलमा परेका थिए । कतिले त कार्यालय परिसरभित्र प्रवेश गरेपछिमात्र बैठक स्थगित भएको जानकारी पाएका थिए । गत असोज २८ गते सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै केन्द्रीय कार्यसमिति बैठक स्थगित गरी ३० गतेका लागि तोकिएको थियो।
तर त्यसयता केन्द्रीय समितिको बैठक बस्दै, स्थगित हुँदै आएको छ । खासगरि महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्कँदै गएको छ । महामन्त्री पक्षधरहरूले चुनावअघि पार्टी महाधिवेशन गर्नुपर्ने अडान राखिरहेको छ । महाधिवेशन कार्यतालिका र चुनावमा जाने निर्णयसँगै गर्नुपर्ने अडान उनीहरूको छ ।
सभापति देउवापक्ष भने चुनावपछि महाधिवेशन गर्ने दाउमा छ । पदाधिकारी पूर्वपदाधिकारी र शीर्ष नेताबीच सहमतिको प्रयास निरन्तर जारी रहँदा विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार छुट्टै भेला राखेका छन् ।