काठमाडौं । जेन-जी आन्दोलनपछि राजनीतिक दल, नेतृत्व र निकट व्यक्तिरू सुध्रिने अपेक्षा थियो । तर उनीहरू समयअनुसार परिमार्जन हुन नसकेको भन्दै टिकटकलगायतका सामाजिक सञ्जालमा 'झोले ट्रेन्ड' अभियान सुरू भएको छ ।
दलका शीर्ष नेता वरिपरी घुम्नेहरूको फोटो तथा भिडियो राखेर यो अभियानमार्फत असन्तुष्टि पोख्ने गरिएको छ । अभियानको निशानामा सबैभन्दा बढी नेकपा एमाले परेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरू पनि 'झोले ट्रेन्ड' अभियानको आक्रमणमा परेका छन् ।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले राजनीतिक परिवर्तन ल्याइसकेको छ । तर पनि दल र शीर्ष नेतृत्व नसुध्रिएको र परिवर्तित घटनाबाट पाठ नसिकेको भन्दै टिकटकलगायतका सामाजिक सञ्जालमा 'झोले ट्रेन्ड' अभियान सुरु भएको हो । अभियानमा शीर्ष नेता र परम्परागत दलहरूलाई निशाना बनाउने गरिएको छ ।
यो अभियानमा युवाहरूले परिवर्तन खोज्दा पनि पुराना दलका नेताहरूले नेतृत्व छोड्न नसकेको भन्दै नेताहरूसँग खिचेका फोटो र भिडियोहरू सामाजिक सञ्जालनमा राखेर झोले ट्रेन्ड भनेर असन्तुष्टि पोख्दै प्रचार गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको असन्तुष्टि शीष नेतृत्वमै देखिन्छ । जेन-जी आन्दोलनले दिएको पाठ नेताहरूले अझै सिक्न नसकेको आरोप यो अभियानमार्फत लगाइएको छ ।
त्यसो त जेन-जीको विद्रोहअघि सामाजिक सञ्जाल प्रयोगकर्ताले 'नेपोबेबी' र 'नेपो किड्स' जस्ता अभियान चलाएका थिए । नेताका छोराछोरीले जनताले तिरेको कर र भ्रष्टाचारको पैसाले विलासी जीवनशैली बिताएको भन्दै आक्रोश पोखेर यो ट्रेन्ड चलाइएको थियो ।
त्यसपछि धेरै नेता तथा उनीहरूका छोराछोरीलाई अफ्ट्यारो स्थिति बन्यो । र, त्यही अभियानको जगमा जेन-जी आन्दोलन सुरू मात्रै भएन २ दिनमै राजनीतिक दलहरूले सत्ता नै गुमाए ।
यसबाट शिक्षा लिएर परिवर्तित मागअनुसार राजनीतिक दल चल्ने अपेक्षा सामाजिक सञ्जाल प्रयोगकर्ताको थियो । तर दलहरूले आफूलाई सुधार्नुको सट्टा पद र शक्ति छोड्न मानेका छैनन् ।
जेन-जी विद्रोहले राजनीतिक दलको सरकार ढलेर नयाँ सरकार गठन भएको छ । तर दलका शीर्ष नेताहरूले आफ्नो गल्ती स्वीकार गरेका छैनन् । पद छाड्नु त कताको कता यस विषयमा छलफलसमेत गर्न तयार छैनन् ।
शीर्ष नेताहरूलाई सीमित व्यक्तिले अझै साथ दिएर उक्साइरहेका छन् । उनीहरूलाई उक्साउने र वरिपरी घुम्नेहरूकै फोटो र भिडियो राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले झोले नाम दिएका हुन् ।
'झोले ट्रेन्ड' अभियानमा सबैभन्दा तारो तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ । ओली निकट नेताहरूमाथि पनि सामाजिक सञ्जालमार्फत आक्रमण भइरहेको छ ।
ओलीले नै यसअघि आफू पार्टीको झोले भएको सार्वजनिक अभिव्यक्ति दिएपछि अभियानकोरूपमा चलाइएको थियो । एमालेको झोले अभियानमा ओलीको फोटो राखेर उहाँ निकट नेता-कार्यकर्ताहरू म झोले हुँ भन्दै आफैं एक्स्पोज भएका थिए ।
अहिले त्यही अभियानको विपरीत सामाजिक सञ्जाल प्रयोगकर्ताले एमाले निकट व्यक्तिको फोटो तथा भिडियो राखेर झोले ट्रेन्ड नाम दिएर अभियान चलाइरहेका छन् । यो अभियानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई पनि जोडेर व्यंग्य गरिएको छ ।
झोले ट्रेन्ड अभियानमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्मलाई भेटेको फोटो राखेर बालेन झोले हुन् कि होइनन् भन्दै प्रश्नसमेत गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले चलाएको 'झोले ट्रेन्ड' अभियानको निशानामा राजनीतिक दलका शीर्ष नेता र निकट व्यक्ति परेका छन् । तर काम विशेषले भेट्न गएका बेला केही व्यक्तिले खिचेका फोटो तथा भिडियो पनि निशानामा छन् ।
अहिले चलिरहेको अभियान दल र नेताहरूको आचरण सुधारमा भएको खबरदारी नै हो । तर फोटो र भिडियो प्रयोग गर्दा साँच्चै पार्टी तथा नेता निकटका व्यक्ति हुन् वा होइनन् भनेर निर्क्यौल गर्नुपर्छ ।
सबैलाई एउटै बास्केटमा राखेर 'झोले ट्रेन्ड' भन्दै जुनसुकै भिडियो वा फोटो राख्ने हो भने अरूको अधिकार हनन् हुन्छ । यस्ता विषयमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ता र अभियानकर्ताहरू सगज हुनैपर्छ ।