माओवादी केन्द्रीय समिति: अध्यक्ष दाहालद्वारा पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रीय समिति: अध्यक्ष दाहालद्वारा पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव गर्नुभएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले पदाधिकारी र केन्द्रीय समिति भंग र महाधिवेशन आयोजक समितिको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले लोकतन्त्रको रक्षाका लागि आगामी फागुन २१ मै चुनाव हुनुपर्ने पनि बताउनुभएको छ ।

जेन(जीको माग अनुसार राजनीतिक दल र शासन सत्तामा जेन(जी र युवा पुस्ताको प्रतिनिधित्व गराउन पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले यसै अनुसार पार्टी रुपान्तरित हुने मोडमा रहेको पनि बताउनुभयो । दाहालले पेश गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा पनि जेन(जी युवा समूहको प्रतिनिधित्व गराउने गरी प्रतिनिधि चयन गर्ने उल्लेख छ । दाहालपछि बोल्नुभएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेकाले निर्वाचनपछि गर्नुपर्ने बताउनुभएको थियो ।

बैठकको सुरुमै सदस्यहरुले बोल्न पाउनुपर्ने माग राखेपछि होहल्ला भएको थियो । पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरेपछि नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग राखेपछि होहल्ला भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.