मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मलबिना कृषिको उत्पादन बढाउन नसकिने उहाँको भनाइ छ । 

मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भयो । मल आयात भएको खबर सार्वजानिक भइरहँदा पनि यसको अभाव हुने कुराको आफूले गहिरो अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरूरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहीँ समयमा उपलब्ध हुन सक्दैन । किन पटक-पटक चाँही यति टन मल आइरहेको छ, आजभोलि यो जान्छ भन्ने पत्रपत्रिकामा आइरहेको छ । त्यो किन भएन भन्ने कुरा चाँही मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’

उहाँले कृषकको हित हुने काम गर्ने बताउनु भयो । वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेतिथि नियन्त्रण गर्ने भएकाले सोही अनुरूप आफुहरूले काम गर्ने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.