नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागें : भट्टराई

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागें : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट आफूले  राजीनामा दिएको स्पष्ट पार्नुभएको छ ।

बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले नेतृत्व छोडेको भए पनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताउनु भयो । 

भट्टराईले राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो । उहाँले प्रमुख तीन परम्परागत दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको टिप्पणी गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि जेन–जी विद्रोह जायज भए पनि केही नेता र वाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको आरोप लगाउनुभयो । 

नेता  भट्टराईले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्टाचारीलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताउनु भयो । अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने पनि उहाँले  बताउनु भयो । उहाँले जेन–जी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । उहाँले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.