निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने

काठमाडौं ।  निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने भएको छ ।

निर्वाचन आयोगको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि योग्य व्यक्तिहरुले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नसक्ने भएका हुन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावलीमा नाम संकलन गर्न नपाइने कानूनी व्यवस्था भए पनि सरकारले अध्यादेश जारी गरेर मतदाता नामावलीमा नाम संकलन गर्ने बाटो खोलेको बताउनु भयो । 

 फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न योग्य भएका तर मतदाता नामावलीमा नाम नभएर मतदान गर्नबाट वञ्चित नागरिकलाई यसले मतदानको अवसर दिएको उहाँले बताउनु भयो । स्थगनमा रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया बिहीवारबाट शुरु भएको उहाँले जानकारी दिनुभयो । मतदाता नामावलीमा नाम समावेश छैन भने आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम संकलन गर्न, त्रुटी भए सच्याउन र कोही बसाईंसराई भएको वा मृत्यु भएको छ भने लगत कट्टा गर्न उहाँले आह्वान गर्नुभयो । कुन ठाउँबाट मतदान प्रक्रियामा भाग लिन होे त्यही ठाउँमा मतदाताको नामावली कायम गर्न आयोगले आग्रहसमेत गरेको छ । अहिले संकलन गरेको मतदाता नमावलीमा संकलित हुने मतदाताहरु फागुन २० गते १८ वर्ष पूरा हुन्छन् भने फागुन २१ गते बिहान ७ बजेबाट प्रारम्भ हुने मतदान प्रक्रियामा उनीहरु सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो ।

२०८२ साल कार्तिक १६ गतेसम्म मतदान गर्न पाउने मतदाताको संख्या पुरुष ९२ लाख ५१ हजार ५ सय ४१ र महिला ८९ लाख १६ हजार ५ सय २ रहेको उहाँले बताउनु भयो । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुग्नेहरुले पनि मतदान गर्नसक्ने व्यवस्थाका लागि अध्यादेश जारी भइसकेको छ । योग्य नेपालीले अब कार्तिक मसान्तसम्म आफ्नो नाम मतदाता नामावलीमा नाम संकलन गर्न सक्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.