एकल ग्राहकको सेयर कर्जा सीमा २५ लाख हटाउन कार्यदलको सुझाव

आश्विन ९, २०८२
एकल ग्राहकको सेयर कर्जा सीमा २५ लाख हटाउन कार्यदलको सुझाव

काठमाडौँ । पुँजी बजार सुधार सुझाव कार्यदलले एकल ग्राहकको सेयर कर्जा सीमा २५ लाख हटाउन सुझाव दिएको छ । पुँजीबजार सुधार सुझाव कार्यदलले एकल ग्राहकको सेयर कर्जा सीमासँगै बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा बढीको मात्रै सूचीकृत संगठित संस्थाको सेयर तथा ऋणपत्र किन्न पाउने व्यवस्था पनि हटाउन सुझाव दिएको हो । 

यस्तै सेयर धितोमा प्रवाह भएको कर्जाको यही असोजसम्म बुझाउनुपर्ने ब्याज आगामी पुससम्म बुझाए पनि कुनै जरिवाना नलाग्ने व्यवस्था गर्न सुझाव दिइएको छ । 

प्रतिवेदनमा लगानीकर्ताले दुईभन्दा बढी हितग्राही खाता खोल्न दिनुपर्ने सुझाव दिइएको छ । मध्यमकालीन सुधार सुझावमा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने र यसको सेयर जारी गर्दै पुँजी वृद्धि गर्नुपर्ने विषय समेटिएको छ । गैरआवासीय नेपालीलाई डलर मै लगानी गर्न सक्ने र लगानी फिर्ता लान सक्ने व्यवस्था गर्न सुझावमा भनिएको छ । 

नेपालको बजारमा दीर्घकालमा इन्ट्रा डे, सर्ट सेलिङ जस्ता कारोबार गराउन नीतिगत व्यवस्था गर्नेलगायतका सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।