काठमाडौं । जेन-जी आन्दोलनले राजनीतिक दलहरुलाई सत्ताको रिङबाट बाहिर पुर्याइ दिएको छ ।
तत्कालीन ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सत्ताच्यूत नै भए । यतिबेला दलहरु रक्षात्मक बनेका छन् । अधिकांश दल जेन-जी आन्दोलन र भदौ २३ र २४ गते भएको घटनाको विश्लेषण गरिरहेका छन् ।
यहीबेला दलका दोस्रो र तेस्रो पुस्ताका नेताहरु पार्टी पुनर्गठनको मुद्दामा गृहकार्यमा लागेका छन् । तर, संस्थापन पक्ष बलियो हुँदा उनीहरुको स्वर कमजोर छ । सधैं सत्ता र शक्तिका लागि संघर्ष गरिरहने शीर्ष नेताहरु अहिले रिङबाट बाहिरिए पनि फेरि सत्तामा फर्किन समय पर्खिरहेका छन् ।
जेन-जी आन्दोलन सफल भएर सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेसभित्रको किचलो बढेको छ । अन्तिम पटक देउवालाई फकाएर नेतृत्वमा पुग्ने अपेक्षामा सहित हरेक गल्तीको साक्षी बन्दै आएका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेता आन्दोलनपछि विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा छन ।
शेखर कोइराला र गगन थापा पक्षका नेताहरु विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियानमा जुटेका छन् । ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिमध्ये केन्द्रीय समितिले निर्णय गरेको वा कारण खुलाएर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।
देउवा निकट नेताहरु भने सभापति अस्पतालमा उपचाररत रहेको अवस्थामा तत्काल विशेष महाधिवेशन बोलाउने गरी हस्ताक्षर संकलन गर्न नहुने बताइरहेका छन् । पार्टीमा प्रतिपक्ष भूमिकामा रहेका नेता शेखर कोइराला र उहाँ पक्षीय नेताहरु चुनावमा नयाँ नेतृत्वसहित जानुपर्ने अडानमा छन् । कोइराला निकट मानिने नेता गुरु घिमिरेको नेतृत्वमा हस्ताक्षर संकलन भइरहेको छ ।
एमालेमा पनि दोस्रो र तेस्रो तहका नेताहरु नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चलाइरहेका छन् । सचिवद्वय योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, केन्द्रीय सदस्य उषा तिम्सेनालगायतका केही नेता अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रसस्त गर्नुपर्ने बताइरहेका छन् ।
तर, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत भने अध्यक्ष ओलीको विकल्प खोज्न नहुने गरी लविइङमा छन् । पार्टीमा बैठक बोलाउन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताले दबाब दिइरहेका छन् । तर अध्यक्ष ओलीले बैठक बोलाउनुको सट्टा पदाधिकारीलाई बोलाएर एक्ला–एक्लै परामर्श गरिरहनुभएको छ ।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा निरन्तर रहने चलखेलमा हुनुहुन्छ । उपमहासचिव जनार्दन शर्मासहितका केही नेताले नेतृत्व परिवर्तनको माग गरेपछि अध्यक्ष दाहाल विशेष महाधिवेशनमार्फत पुन आफैंलाई स्थापित गर्ने दाउमा हुनुहुन्छ ।
अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा विशेष महाधिवशेन गर्ने गरी केन्द्रीय समिति भंग गर्ने प्रस्ताव राख्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि सभापति रवि लामिछानेले मार्गप्रसस्त गर्नुपर्ने वा महाधिवेशन गरेर नयाँ नेतृत्व छान्न दबाब बढेको छ ।
तर, रास्वपाले पनि रविको विकल्पमा जाने छाँट देखाएको छैन । यसरी राजनीतिक दलका पछिल्ला क्रियाकलाप हेर्दा पुरानै नेतृत्वलाई अघि सारेर चुनावमा होमिने देखिएको छ ।
जेन-जी आन्दोलनपछि किनारा लागेका देउवा, ओली, दाहाल र लामिछानेहरु सत्ताकै लोभमा छन् । यसले पनि दलहरुमा तत्काल नेतृत्व पुस्तान्तरण हुने सम्भावना कमजोर देखिएको छ ।
तर सबै दलमा यो आन्दोलनले परिवर्तनमा मुद्दालाई जवरजस्त प्रवेश गराइदिएको छ । जसले गर्दा सबैजसो दलमा नेतृत्व परिवर्तन मात्र होइन पुस्तान्तरणको बहसले विवाद उत्पन्न गराएको छ । दलहरुभित्रको अवस्था साम्य भएर जान्छ वा निर्णायक रुप लिन्छ यसले नै उनीहरुको भविष्य निर्धारण गर्ने छ ।