बुटवल-गोरूसिङ्गे सडक विस्तार : काम कम, सास्ती धेरै

जेष्ठ १६, २०८३ |अमृता अनमोल
बुटवल-गोरूसिङ्गे सडक विस्तार : काम कम, सास्ती धेरै

बुटवल । वर्षा मुखैमा आएको छ। 

राजमार्ग क्षेत्र विस्तार भैरहेका छन्। तर, निर्माण कार्यले गति नलिँदा यात्रुलाई भने सास्ती छ। यसैको एक उदाहरण हो बुटबल‌ गोरूसिङ्गे चन्द्रौटा सडकखण्ड । बुटवल नारायणगढ सडकखण्डमा ८ वर्ष सास्ती खेपेका यात्रुले अब यस खण्डमा सास्ती खेप्ने भएका छन्।

तपाई बुटवलबाट महेन्द्र राजमार्ग हुँदै पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने ख्याल राख्नुस् है। रूपन्देहीको बुटवलबाट कपिलवस्तुको गोरूसिङ्गे र गोरूसिङ्गेबाट चन्द्रौटासम्मको राजमार्ग क्षेत्र विस्तार हुँदै छ। विस्तार थालिएको सडक अहिले भत्काएर भताभुंग छ। 

सडकभरि निर्माण सामाग्री लथालिंग छन्। घाम लाग्दा धुलो उड्छ। थोरै पानी पर्यो कि सडक हिलाम्य हुन्छ। वर्षा मुखैमा आएको छ, अब यो सडक सरी पार गर्ने होला ? भनेर यात्रुहरु पिरोलिएका छन् । एडीबीको अनुदानमा विस्तार थालिएको बुटवल- गोरूसिङ्गे चन्द्राैटा सडकअन्तर्गत बुटवल गोरूसिङ्गे ५० किलोमिटर विस्तार २०८१ कात्तिक १२ गतेदेखि सुरु गरेको हो । 

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रूपैयाँमा ठेक्का लिई काम गरेको छ । २०८४ कात्तिक ३ गतेसम्म निर्माण सक्ने लक्ष्य रहेको सडक सुरुवातमा द्रुत गतिमा भएको थियो । 

तर, माटो लगायत निर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण कम्पनीले कामको रफ्तार स्वात्तै घटाएको छ । दैनिक ८ सय मजदुर निर्माणमा खटेको यो राजमार्गमा अहिले आधाभन्दा कम मजदुर मात्रै काममा छन् । बुटवल- गोरूसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार निर्माणको काम सुरु भएको डेढ वर्षमा सडक विस्तारको करिब २५ प्रतिशत काम मात्र सकिएको छ ।

बुटवल गोरूसिङ्गे सडक विस्तारलाई ५० किलोमिटर दूरीमा दुई खण्डमा विभाजन गरिएको छ । सडक स्तरोन्नतिपछि सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र वन क्षेत्रमा २४ मिटर चौडाइको सडक निर्माण हुनेछ। सडकलाई आधुनिक र सुरक्षित बनाउन ˆलाइओभर, अन्डरपास, आकासे पुल तथा वन्यजन्तु क्रसिङ निर्माण गरिँदै छ । 

सडक निर्माण आवश्यकता हो। तर, यो वा त्यो बहानामा सडक विस्तार लम्बाउने र नागरिकलाई विकासका नाममा सास्ती दिने काम राज्यका कुनै संरचनाले गर्नुहुँदैन ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।