काठमाडौं । नवनियुक्त मन्त्रीहरूमा पूर्वन्यायाधीशदेखि सञ्चारकर्मीसम्म हुनुहुन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त हुनुभएका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ ।
उहाँ ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिकमा सेवानिवृत्त हुनुभएको थियो । उहाँ २०७३ साउनमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त हुनुभएका जगदीश खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुनुहुन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त महावीर पुन कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुनुहुन्छ । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गर्नुभएका पुन सामाजिक अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्छ । प्रतिष्ठित 'रामोन म्यागासेसे अवार्ड' विजेता पुन नेपालमा विज्ञान र अनुसन्धानको विकासमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।
पुनले आफ्नै जीवन कथा समेटेर 'महावीर पुन : सम्झना, सपना र अविरल यात्रा' प्रकाशनसमेत गर्नुभएको छ । पछिल्लो समय उहाँले २०५९ सालदेखि बन्द रहेको वीरगन्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउँदै त्यही परिसरमा नयाँ आविष्कारका कामहरू गरिरहनुभएको छ ।
यस्तै नवनियुक्त कृषिमन्त्री मदन परियार जलवायु तथा कृषिविज्ञ हुनुहुन्छ । हाल समता फाउन्डेसनका अध्यक्षसमेत रहनुभएका उहाँले संविधानसभाको राज्य पुनःसंरचना उच्चस्तरीय आयोगको संयोजक रहेरसमेत काम गर्नुभएको थियो ।