काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
थप चार मन्त्रीहरूलाई समेटेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा साेमबार अपराह्न आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ दिलाउनुभएको हो ।
साेमबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेलले सपथ लिनुभएको हो । सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त हुनुभएको हो ।
यस्तै, महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियार कृषि र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ५ मन्त्रीको नाम सिफारिस गरेकोमा स्वास्थ्यमन्त्रीमा प्रस्तावित संगीता मिश्राको सपथ भने स्थगन गरिएको थियो ।
चार मन्त्री थपिएसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । गत भदौ २७ नियुक्त हुनुभएकी प्रधानमन्त्री कार्कीले ३० गते तीन मन्त्री नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीले अन्य मन्त्रीका लागि परामर्श जारी राख्नुभएको छ ।