थपिए तीन मन्त्री, अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल

भाद्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
थपिए तीन मन्त्री, अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्नु भएको छ । उहाँले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाउनुभएको छ । आन्दोलनकारी जेनजीसँगको परामर्शपछि हिजो राति ती नामको टुङ्गो लागेको हो ।

खनाललाई अर्थमन्त्री र घिसिङलाई ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय पनि घिसिङले सम्हानुहुनेछ । अर्याललाई गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अधिवक्ता अर्याल काठमडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुनुहुन्छ । तीनै जना मन्त्रीहरूको शपथ आज हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिनुहुन्छ । दुबै जनालाई आन्दोलकारी जेनजीले रुचाएका छन् । जेन जी आन्दोलनको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेल्नु भएको छ । तीनै जना मन्त्रीहरुको सपथ आज हुने राष्ट्रपति कार्यालयले जनाएको छ । अन्य मन्त्री छनोटका लागि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेनजी युवाहरूसँग परामर्शमा गरिरहनु भएको छ ।

जेनजी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उहाँले तीन मन्त्री छान्नु भएकको हो । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भए पनि कार्कीले आइतबार सिंहदरवार पुगेर पदबहाली गर्नु भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आगजनी गरेकाले उहाँको पदवहाली गृहमन्त्रालयमा निर्माण गरिएको नयाँ भवनमा भएको छ । आगजनीका कारण गृह मन्त्रालयको भवन बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । गृहलाई पहिला सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा सारिदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.