माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आइतबार लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको उहाँले धारणा राख्नुभयो । 

आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताउनुभयो । 

उहाँले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठूलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर-दक्षिण करिडोर निर्माण, गरिब किसानका लागि रू ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गर्नुभयो । 

उहाँले भन्नुभयो, “दोस्रो कार्यकालमा सविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।” तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तरराष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गर्नुभयो । 

पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उहाँको भनाइ छ । यो अभियानले जनतालाई सत्यरतथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्‍याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.