ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सकिदैछ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि महाधिवेशनमा आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यतालिका छ ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रस्ताव पेस गर्नुभएको थियो । जसमाथि १० समूह गठन गरेर छलफल भएको थियो । आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । अधिवेशनले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गर्नेछ ।